२०८३, कार्तिक १४ गते शनिबार

इपिएसअन्तर्गत उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या ८ हजार थपियो

इपिएसअन्तर्गत उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या ८ हजार थपियो


  • मेरोभ्यूज
  • भाद्र १०, २०७९ शुक्रबार

  • इपिएसअन्तर्गत उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या ८ हजार थपियो

    काठमाडाैं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ ।

    उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट तीन हजार एक सय ३० र दोस्रो चरणको परीक्षाबाट तीन हजार सात सय ८३ गरी कूल छ हजार नौ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो ।

    उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको सङ्ख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट छ हजार सात सय ५२ र दोस्रो चरणबाट आठ हजार एक सय ६१ गरी कूल १४ हजार नौ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार नौ सय र कृषितर्फ नौ हजारले फाराम भरेका थिए ।

    उत्पादनतर्फको पहिलो चरणको परीक्षा गत साउन २ देखि सुरु भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ । पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने इपिएस कोरिया शाखाले जनाएको छ ।

    शाखाका निर्देशक पुष्पराज कटुवाल परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको सङ्ख्या पनि वृद्धि हुने बताउँछन् । “यो नेपाली युवाका लागि अवसर हो”, उनले भने, “कोरिया सरकारले नेपालीलाई रुचाएको देखिएको छ ।”

    सन् २००८ देखि इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन् । इपिएसबाट ७३ हजार नेपाली कोरिया पुगिसकेका छन् । उनीहरुले चार वर्ष १० महिना कोरियामा काम गर्न पाउँछन् ।

    हाल कोरियामा ३३ हजार इपिएस श्रमिक छन् । दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत विभिन्न १६ देशबाट श्रमिक लैजाँदै आएको छ । इपिएसबाट श्रमिक लैजाने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ । सबैभन्दा बढी कम्बोडियाबाट श्रमिक कोरिया पुगेका छन् ।


    प्रकाशित : शुक्रबार, भाद्र १० २०७९०८:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार